Saturday, December 20, 2025

सामाजिक सञ्जाल बन्द नगर्न मैले आग्रह गरेको थिएँ : रघुजी पन्त

 



काठमाडौँ । आफूले तत्काल सामाजिक सञ्जाल बन्द नगर्न आफूले आग्रह गर्दागर्दै केपी ओलीले अस्वीकार गरेको नेकपा (एमाले) का उपाध्यक्ष रघुजी पन्थले बताएका छन् ।

पन्तले २०८२ साल पुस ५ गते, शनिबार पद्मकन्या क्याम्पसको डेनिस हलमा प्रगतिशील लेखक संघ, नेपालको आयोजनामा सम्पन्न ‘प्रलेस पुरस्कार समर्पण’ कार्यक्रमको प्रमुख अतिथिको आसनबाट सम्बोधनका क्रममा सो धारणा राख्नुभएको हो ।
“मैले मेटा सामाजिक सञ्जाललाई तत्कालै नियमन गर्ने विषयमा सोच्नु पर्दछ भनेको थिएँ’, प्रमुख अतिथि पन्तले भने– ‘तत्कालिन प्रधानमन्त्रीले मान्नु भएन, उहाँ झोंक्की हुनुहुन्छ, बन्द गरिहाल्नु भयो ।’ पन्तले नेपालका स–साना उद्योग कलकारखानाहरूले राज्यलाई कर तिर्नुपर्ने तर मेटा एउटा कम्पनीले नेपालको सार्वभौमसत्ता स्वीकार नगर्नु दुखद भएको बताए ।
सामाजिक सञ्जालका कैयौँ राम्रा पक्षहरू हुँदाहुँदै पनि त्यसले वर्तमान समाजलाई अध्ययनबाट विमुख बनाएको पन्तको भनाई थियो । ‘साहित्यले समाजको चेतना निर्माण र लोकतान्त्रिक मूल्यको संरक्षणमा खेल्ने भूमिका खेल्नु पर्ने हुन्छ’ पन्तले जोड दिए ।
कार्यक्रममा प्रगतिशील लेखक संघ (प्रलेस) द्वारा विभिन्न साहित्यिक पुरस्कारहरूले प्रगतिशील साहित्य, संस्कृति र विचारको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने स्रष्टाहरूलाई समर्पण गरिएको हो ।
यस वर्षको प्रलेस श्याम प्रसाद स्मृति पुरस्कार प्रगतिशील साहित्यकार ईश्वरचन्द्र ज्ञवालीलाई प्रदान गरिएको छ । त्यस्तै प्रलेस प्रतिभा पुरस्कार लेखक तथा राजनीतिज्ञ अनिल शर्मालाई प्रदान गरिएको छ । त्यसैगरी प्रलेस बाल साहित्य पुरस्कार बाल साहित्यकार सुशिला प्रधानाङ्गलाई प्रदान गरिएको छ । कार्यक्रममा प्रलेस युवा पुरस्कार युवा लेखक तथा साहित्यकार रूपक अलंकारलाई प्रदान गरिएको छ ।
उक्त पुरस्कारहरू नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष तथा प्रलेसका सल्लाहकार रघुजी पन्तद्वारा पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा प्रलेसका पूर्व अध्यक्षहरू मातृका पोखरेल, प्रा.डा. जीवेन्द्रदेव गिरी, सल्लाहकार शान्ता मानवी, पुरस्कृत प्रतिभा ईश्वरचन्द्र ज्ञवालीले मन्तव्य राखेका थिए । कार्यक्रम प्रगतिशील लेखक सङ्घका अध्यक्ष डा. देवि दुलाल क्षेत्रीको सभापतित्वमा भएको थियो भने सञ्चालन महासचिव पारस ढकालले गरेका थिए ।

000


Saturday, August 23, 2025

एपेक नेपाल (APEC NEPAL)को आयोजनामा 'मलाई मन परेका कविता -४' ऋङ्खला सम्पन्न

एपेक नेपाल (APEC NEPAL) का अध्यक्ष बरिष्ठ साहित्यकार श्री विश्वविमोहन श्रेष्ठको अध्यक्षता तथा मुक्तक साम्राज्ञी श्री उषा शेरचनको बिशिष्ट आतिथ्यमा पुतलीसडक स्थित ग्रिनलिफ रेष्टुरेण्टको सभाकक्षमा आयोजित “ मलाई मन परेका कविता -४ “ कविता वाचन ऋङ्खला सम्पन्न भयो ।

युवाकवि मोतीराम भट्टको १६० औं जन्मजयन्तीको अवसरमा आयोजित उक्त कार्यक्रममा २१ जना विद्वान साहित्यकारहरूले आफूलाई मन परेका कविका कविताहरू वाचन गर्नु भएको थियो। कविता वाचन गर्ने कविहरूमा क्रमशः श्री राधेश्याम लेकाली, प्रा.डा.श्री साबित्री मल्ल कक्षपति, माननीय श्री मीना श्रेष्ठ, श्रीओम श्रेष्ठ रोदन, श्री सुस्मिता नेपाल, श्री विनोद नेपाल, श्री मातृका पोखरेल, श्री मञ्जिला अनिल, श्री दिपक लोहनी, श्री एलिशा ढुंगाना, श्री रञ्जना निरौला , श्री ममता मृदुल, श्री राजेश्वर कार्की , श्री राम प्रसाद पन्त , श्री रिता खत्री, श्री विजयध्वज थापा, श्री कुमारी लामा, श्री बिक्रम भक्त जोशी, श्री साबित्री श्रेष्ठ, श्री प्रकाश समीर, श्री शंकर भारती हुनुहुन्थ्यो ।

एपेक नेपालका कार्यकारी निर्देशक श्री राजेन्द्र सलभको स्वागत मन्तव्यबाट शुरू भएको उक्त कार्यक्रमको सञ्चालन श्री मणि लोहनीले गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा श्री उषा शेरचनको शुभ जन्मोत्सव भव्य रूपले मनाईएको थियो ।

000